तिम्रो खाली सिउँदोमा सिन्दुर घस्ने कहिले होला ?
अब हामी दुईको घरबार बस्ने कहिले होला ?
तिमीलाई देखेदेखि अन्त मन डुल्या छैन
दुईटै मनलाई गाँठो पारी माया कस्ने कहिले होला ?
जति हेर्छु तिम्रो मुहार अघाउन्न कसैगरी
सधैं मुहार देखाउन घरमा पस्ने कहिले होला ?
कुरा गरी प्रणयका बस्न पाए दुवैजना
मीठामीठा कुरा गरी प्रेममा खस्ने कहिले होला ?
रातभरि सपना पनि तिमी सामु भा'को देख्छु
त्यै सपनाको संसार जस्तै सँगै बस्ने कहिले होला ?
No comments:
Post a Comment