
करिब १ वर्ष पहिलेको कुरा हो । इन्टरनेटमा अनलाइन समाचार सर्च गरिरहँदा खासै चाख लाग्दो विषय केही पनि भेटिनँ मैंले । त्यतिखेर नै देश विदेशका साचार माध्यमहरुको पहिलो समाचार श्रीलंकाका तमिल विद्रोही र सिंहाली सरकार विचको गृह युद्ध थियो । त्यही कहालिलाग्दो गृह युद्धलाई नजिकबाट अध्यायन गर्न इन्टरनेटमा याहु म्यासेन्जरको पब्लिक च्याटमा देश श्रीलंकालाई रोजें मैंले । अनगिन्ति मान्छेहरु भेटिए अनलाइन पब्लिक च्याटमा श्रीलंकाका । भेटिएका जति सबैसँग कुराकानी गर्न खोजें र गरें पनि । सामान्य परिचय पश्चात मेरो एउटै जिज्ञासा थियो सबैसँग । गृह युद्ध चलिरहँदा श्रीलंकाको अवस्था कस्तो छ अहिले ? प्राय सबैको उत्तर उस्तै-उस्तै थियो । "कुरा गरेर साध्य छैन यो देशको । जीवन र मृत्युको दोसाँधमा बाँचिरहेका छन् यहाँका जनता । कतिखेर के हुने हो थाहा छैन । कस्ता अभागी रहेछौं हामी ? जो यस्तो भूमिमा जन्मिएका छौं । जहाँ विगत ३० वर्ष देखि वम र वारुद्धको धुवाँ अक्सिजनको रुपमा खाईरहेका छौं । म त झनै भाग्यले ठगिएकी हुँ या पूर्व जन्मको पापले सरापेकी, त्यो त थाहा भएन । यदि पूर्व जन्मको पापले नै सरापेको हो भने त्यस्तो कुनै अपराध गरें हुँ जस्तो लाग्दैन मलाई । जो जन्मनु भन्दा १२ वर्ष अघिदेखि नै गृह युद्ध चलिरहेको मुलुकमा जन्मिएँ । अझै कति चल्ने हो र कति निर्दोष मान्छेको ज्यान लिने हो त्यो पनि थाहा छैन" । यी उनीले नै भनेका कुरा हुन, जो मैंले जस्ताको तस्तै राखेको छु यहाँ । जसको बारेमा केही लेख्न खोज्दै छु म आज ।
सधैजसो आज पनि उनी नै आमन्त्रीत गर्छिन मलाई सेलफोनमा । खै किन हो कुन्नि ? आजभोलि त म पनि उनी भनेपछि हुरुक्कै भाको हो कि ? उनको आवाजको रिङ्ग मोबाइलमा ट्यार गर्ने बित्तिकै हाकिमसँग केही न केही बहाना बनाएर होस् या बिसन्चोको कारण देखाएर होस् डिउटी बाट फुत्किहाल्ने कोठातिर । भेटघाटको शुरुका दिनहरुमा त धेरै नै भाउ खाने । आखिर २-४ दिनको तितो मिठो शब्दरुपी खाजा के पस्केको थिएँ मिठो लागेछ क्यारे । समय मिल्यो कि मिसकल अनि कल पनि । करिब १ वर्ष जति भयो होला उनीसँग बायुमण्डलिय तरंगको विधुतीय साइनो सुरु भएको । यथार्थमा भन्नु पर्दा यो अवधिमा योहोना र म बिच भावनाको साइनोले यति जरा गाडिसकेको छ कि एक दिन पनि नेटवर्किय साजालले बाटो बिरायो कि एक अर्काबिच दोषारोपण यानिकी उनीबाट म टाढा हुन चाहे रे ! उनी म बाट । "ल ल योहोना म आइ पुगे । एकै छिन ल" ! राहातको आस्वासन् दिदै घरतिर लाग्छु । घरमा गयो कि सिधै इन्टरनेटमा युनिफर्म् चेन्ज, खाना तयार, नुहाउने अनि अरु कुरा त छोडौं साथिले तयार गरेको खाना खान पनि हतार ।
भनु भने उनी थिइन् श्रीलंकाको नेगम्बोमा, म हिमालको काख नेपालमा । अनि सुरु हुन्छ हाम्रो विधुतीय तरंगित साइनो आकाशमा तैरिँदै । "हैन तिमी किन यसरी मरिहत्ते गरेको भन्याँ ?, "आकाशको फल आँखातरि मर" भनेझै यो कल्पना समेत गर्न नसकिने नातालाई किन जरा रोप्न चाहिरहेकी छौ ? ठुलो बनाएर झ्याङगिन दिनु भन्दा त सानैमा लडाउनु नि" तर उत्तरमा 'जरा काट्ने हैन "नरेन्द्र" जी, फुलाउने फलाउने रे पो त । अझै त्यति मात्र कहाँ हो र, सँगै जिउने मर्ने रे' । फेरि कोसिस् गर्छु सम्झाउने । "हा… हा… हा… तिमी जस्ता महासागर पारिका पुर्णिमाका जुनहरु यो धर्तिको गहिराईबाट धेरै नै देखिसकें योहोना । जो पुर्णेमा सँगै आउछन् अनि औंसी सँगै अस्ताउछन् । तिनिहरुले मलाई गर्ने माया केवल मेरो महिनाभरि बगाएको पसिनाको मुल्यमा लक्षित हुन्छ । यौवनको मातलाई विधुतिय क्यामरामा कैद गराएर धनको डोरी तान्ने सागरपारिका परिहरुसँग म दिक्क भैसकेको छु योहोना । अब चुडाइदेउ तिम्रो मेरो तारलाई तिम्रो कम्प्युटरको डेस्कटपबाट" ।
"फेरि अर्को" कुरा एकचोटी टुक्रिसकेको यो मेरो मुटुलाई पुन मित्रताको मलम लिएर मसाज गर्ने नर्स पनि धेरै भेटे । विक्षिप्त आत्मा अनि टुटिसकेको धैर्यताको बाँधबाट छताछुल्ल भएका मेरा भावनाहरु शिशिरले भताभुङ्ग पारिएको विरुवा झै केवल रसविहीन भावनाले सजिएको एकल जीवनका क्षणहरु मिर्मिरे उषासँगै सन्ध्याको लाँलिमा सजिब बन्न सक्दैनन् भने, तिमी कसरी सम्हाल्न सक्छौ मेरो मनलाई ? अझै यो त कहालिलाग्दो अनन्त गगन र बिशाल धर्तिको मिलन् सपना झै लाग्ने क्षितिज पारिकी सहकर्मीलाई मायाको घुम्टो ओढाएर आँखामा बसाउने काल्पनिक सपना सपनामै सिमित हुनेछ । जिवनका हरेक घुम्ति र पाइलामा साथ दिन्छु भन्ने तिम्रा ति जोसिला आस्वासनहरुलाई म सलाम गर्छु तर तिम्रॊ महत्वकांक्षा र मेरो सपनाको दुरी आकास पाताल जस्तै छ । एउटै महादेशको भएपनि अधिक् टाढा छु । त्यसैले मेरो भावाकासमा तिम्रो सम्झना मात्र पनि बादल बनेर मडारिनु सिवाए अर्को उपाय देख्दिन म" ।
यति भनेर पनि टेर पुच्छ्ररै नलगाउने । फेरि सुरु हुन्छ उनको महाभारत ।
उनी पहिले जापानमा बसेकी रे ! स्टाफ नर्सको जागिर गरेर । अहिले जागिरको सिलसिलामा काठमाण्डौं (जहाँ म बसिरहेको छु) को लागि नै कोसिस् गर्दै छिन् रे ! जापानको बसाई सकिसकेपछि फेरि पैसाको अभाव खड्कियो रे ! अनि नेगम्बोमा चाँही राम्रो जागिर पाएपनि मनग्ये पैसा कमाई नहुने रे ! अझ त्यसैमाथि मसँगको साइनोको डोरी पनि एउटै दिशातिरबाट हुन पुगेछ नभेटि नछोड्ने रे ! अगाडि मक्ख पार्दै भन्छिन् "५० प्रतिशत काम भै सक्यो, अब म छिट्टै तिम्रो अँगालोमा बेरिंन आउँदै छु । खुसि को प्रतिक्षामा बस्नु । " हैन भगवान् ! यो के हुन लागिरहेको छ ? विस्वास गरु कि नगरु ? विस्वास नगारौं भने उनी भन्छिन् "म अरु जस्तो हजार वृक्ष डुलेर हिड्ने पंछि हैन । मलाई एउटा राम्रो जीवन साथीको आवश्यक छ । जो तिमी पुरा गर्न सक्छौ । मलाई देशी भन्दा अन्तरदेशीय साइनो मनपर्छ । काम भन्दा कुरा गर्ने स्वार्थीहरुको दुनियाँमा बाँच्नु छैन मलाई" । वास्तवमा भन्दा उनीसँग आफ्नो भन्ने कोही छैन रे ! उनी ठुलै भएपछि श्रीलंकाको द्वन्दमा कारण माता-पिता र एउटा भाईको सँगै स्वर्गवास भएको रे ! कोही आफन्तको सहाराबाट स्टाफ नर्सको अध्ययन पुरागरी ५ वर्ष जागिर खाएकी रे सुर्योदयको देशमा । अनि एउटा आफ्नो भनाउँदो अत्यन्तै माया गर्नेले पनि धोका दियो रे ! त्यसपछि आफ्नै देशका मानिसहरुसँग नाता जोड्न मन नपराउने रे ।
हुन पनि कतिखेर साँच्चिकै हो जस्तो पनि लाग्छ । प्राय उनीलॆ नै मलाई फोन गर्छिन । खातका खात ई-मेल अर्थात विधुतीय चिट्ठी पठाउछिन् । एकदिन टाढा भयो कि भन्छिन्- 'सत्यताको माया प्रेममा जस्तो सुकै परिस्थितिले पनि एकदिन सामाना गर्नु पर्छ सत्य सँग ।' रोमियो र जुलियटको जस्तो, अनि कार्ल माक्स्र र जेनी माक्स्र अर्थात (जेनी फोन वेस्ट फालेन्) को जस्तो जोडी हुन्छ हाम्रो । लियोनार्दोले मोनालाई जस्तै गर्ने छु मिलनको बाटो रहेन भने । "फेरि स्वतन्त्र्ताको नाममा घाँटी नै रेटिने यो ठाउँमा आएपछि कसरी नाता जोड्ने हो कुन्नि" ? त्यसको लागि सबै कागज पत्र तयार गरेरै आफै ल्याउछिन् रे ! मसँग त मेरो अविवाहित लेखिएको नागरिकता र पासवर्ड मात्रै भए पुग्ने रे ! 'आखिर तिम्रा गङ्गाराम नै जानुन् र मेरा पशुपतिनाथ नै जानुन्,' यो सम्बन्धले कस्तो रुप लिन्छ भनेर । हुन त मलाई पनि उनी सँगको मायाले नतानेको होइन । तर यो नेटवर्किय साइनोले पुर्णता पाउला भन्नेमा शंका नै लाग्छ । चार अक्षरको 'सफलता' र दुई अक्षरको 'प्रेम' बिचको यो आसाविहीन पाइलाहरुले लक्षमा पुर् याईदेओस्, हाम्रो लागी भन्ने आशाको दियो त पक्कै म बाट पनि बाल्नु नै पर्ला जस्तो छ । यसरी कति दिन सम्म सम्झना र विधुतीय तरंगको सहारामा अगाडी बढ्ने हो कुन्नि ?
कोमलता भित्रको कठोरता, सरलता भित्रको जटिलता, निश्छलता भित्रको कुटिलता, लाई बुझेर हो या नबुझेर मनको आँखाले देख्न नसकेपनि चर्म आँखाले देखेको आवरणलाई आधार बनाएर उनी प्रति लिप्त हुनु मुर्खता हो या असक्षमता अनभिज्ञ छु म । लाखौं प्रेमीहरुकी मनमोहक तस्विरमा सजिएकी मोनालिसाको बहुचर्चित मुस्कानलाई त विश्वका करोडौं विश्लेषकहरुले पनि परिभाषित गर्न सकेका छैनन् भने, तिम्रो खुसि र उमंगको बहारलाई पनि मैंले भौतिक आकृतिको भरमा बर्णन गर्न सक्दिनँ योहोना । तिमीले वेदनाले छट्पटाएको बेला बाँडेको रोदन हो या खुसीले मातिएको बेला अनायासै जोडिन पुगेको साइनो हो ? त्यो त तिमीलाई नै थाहा होला । तर जे भएपनि यो वायुमण्डलिय आकासमा साहारा खोज्दै भौतारिरहेका हामी दुई बिचको नाता जुनि जुनि फैलिदै जाओस् मिलनको पर्खाई बिच भएपनि अनन्तसम्म…………………
आदरणीय पाठक वृन्द ! हुन त हाम्रो साइनो पनि विधुतिय नै हो जस्तो लाग्द्छ मलाई । यदि उनको साथ छुटे पनि हाम्रो साथ चाँहि नछुटोस् है !
समाप्त !!