जिन्दगी एक यात्रा यात्राको दौरानमा धेरैसँग परिचय भयो मित्रता गाँसियो । कसैलाई मैंले असल मित्रभन्दा ज्यादा उपमा दिइनँ र दिन सकिनँ । आज तिमीलाई देखेँ तिमीसँग परिचय हुनु अगावै मुटुको ढुकढुकीमा तिम्रो नाम गुञ्जन्छ । मनमा तिमी नै मुस्काउँछ्यौ । आँखाको लेन्सले तिम्रै तस्बिर कैद गर्छ । यस्तो किन ? प्रश्न तेर्सिन्छ । मेरो मनले भन्छ तिमीलाई माया भयो । मेरो मस्तिष्क बोल्छ तिमीलाई प्रेमले छोयो । मेरो मन र मस्तिष्कको आवाजलाई नकार्न सकिनँ । त्यसैले भन्छु मलाई साँच्चै नै माया भयो । म तिमीलाई माया गर्छु । यद्यपि चोखो अनि निःस्वार्थ प्रेम गर्छु भनेर म भन्न सक्दिनँ । मेरो प्रेम निःस्वार्थ छ भनेर दावी गर्ने आँट ममा छैन । मेरो प्रेममा पनि केही स्वार्थ पक्कै छ । मलाई लाग्छ तिमीलाई चाहनु नै मेरो ठुलो स्वार्थ थियो । स्वतन्त्र रुपमा फुलिरहेको फूलमा भमराले छड्के आँखा लगाउनु पक्कै स्वार्थभन्दा परको कुरा हुन सक्दैन । तिम्रो स्वतन्त्रतालाई लत्याएर तिमीसँगै बाँच्न चाहने मेरो रहर पक्कै स्वार्थ नै हो । तिम्रो एक्लो जीवनमा आफ्नो दुःख-सुःख बाँड्न चाहने मेरो इच्छालाई स्वार्थ होइन भनेर म भन्न सक्दिनँ । तर मेरो स्वार्थ अरु प्रेमरोगीहरुको भन्दा
पृथक छ, अनौठो छ र उच्च छ । तिमीलाई अँगालोमा बेर्ने रहर मेरो स्वार्थबाट दूर छ । तिमीलाई चुम्बन गर्ने चाह मेरो उद्देश्यभित्र पर्दैन । तिमीलाई मेरो प्यास मेट्ने वस्तुको रुपमा ग्रहण गर्नुले मेरो स्वार्थलाई मूर्त तुल्याउन सक्दैन । यदि मेरो स्वार्थलाई यही रुपमा हेरेकी छ्यौ भने तिमीले गलत बुझ्यौ । मेरो प्रेमलाई गलत ढंगले परिभाषित गर्यौ र मेरो प्रेमबाट गलत ज्ञान लियौ । किनकि मेरो प्रेम शारीरिक आर्कषण होइन अन्तरआत्माको भावनात्मक उपज हो । म तिमीलाई माया गर्छु । तिमीले प्रमाण खाज्यौ भने मैले शीर झुकाउनुपर्नेछ । साँच्चै मेरो प्रेमका ठोस प्रमाणहरु छैनन् । छाती चिरेर घाउ बनाउने साहस ममा छैन । नाडी रेटेर रगत बगाउने आँट मनले गर्दैन । बाइकमा सँगै टाँसिएर हुइँकिने क्षमता मभन्दा धेरै माथि छ । शब्द-शब्दमा पैसाको वर्षा गराउने औकात छैन मसँग । त्यसैले प्रिया यदि तिमी मलाई माया गर्छ्यौ भने मेरो प्रेममा विश्वास छ भने बिन्ती मेरो प्रेमको प्रमाण नखोज किनकि मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मासँग नजिक छ । म तिमीलाई माया गर्छु । सँगै बाँच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दिनँ । जीवन हामीले सँगै जिए जस्तै हाम्रो एकसाथ मृत्यु असम्भव छ । भोली म मर्दा न तिमी मसँगै चितामा जल्न सक्छ्यौ, न तिमी मर्दा म नै जल्न सक्छु । यथार्थको धरातलभन्दा पर टेकेर आवेगमा म यस्तो वाचा गर्दिनँ । भोली पूरा गर्न नसक्ने वाचा आज गर्दै हिँड्नुको औचित्य देख्दिनँ म । वाचा र कसमभित्रको प्रेम सत्य निःस्वार्थ र अमर रहन्छ भन्ने धारणाको खण्डन गर्छु । म त प्रेम वाचा र कसमको सामीप्यमा भन्दा विश्वासको गर्भमा हुर्किरहेको देख्छु । म त प्रेम वाचा र कसमको सँगालोमा भन्दा विश्वासको छहारीमा मौलाइरहेको पाउँछु । त्यसैले वाचा गरिनँ कसम खाइनँ तर शंका नगर प्रिया किनकि मेरो प्रेम वाचा र कसमको दहभित्र झाँगिएको लेउ होइन विश्वासको बगैंचामा फकि्रएको रातो गुलाब हो । म तिमीलाई माया गर्छु । यसको अर्थ तिमीले पनि मलाई माया गर्नैपर्छ भन्ने होइन । मेरो प्रेम कुनै नियमभित्र बाँधिएको छैन । तिमी स्वतन्त्र छ्यौ । इच्छा भए हुन्छ भन इच्छा छैन त नाइँ भन । मेरो प्रेम स्वीकार्य भए सहमतिको ताली बजाऊ स्वीकार्य छैन त विरोधको घण्टी पिट । मेरो प्रेममा विश्वास भए आत्माले ग्रहण गर शंका लागे घृणाको झटारो हान । मेरो कुनै गुनासो रहनेछैन तर सत्य यही हो-मेरो तिमीप्रतिको प्रेम अब कहिल्यै बिलाउनेछैन नष्ट हुनेछैन ।
उही अछामको छोरो
" हुने बिरुवाको चिल्लो पात " । नरेन्द्र जी, मलाई यती भन्न मन लाग्यो । शायद यतिले सबै कुरा बोल्छ होला । कसैको कुनै शब्द आबश्यक छैन । निरन्तर अघी बद्नुस् है, धेरै माथि पुग्नुहुन्छ भन्ने आशा गरेकोछु । शुभकामना छ !
ReplyDelete