करिब एकवर्ष अघि जण्डिसले ग्रस्त एकजना सहकर्मी मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए नरेन्द्रजी, अब बिहे गरौं । म हाँसें । बिहे नगरेर नै मलाई जण्डिस भएको हो । म झन हाँसें । हेर्नुस् उनी भावुक पनि भए, खाना राम्ररी खान पाएको भए जण्डिस हुन्थ्यो । जे पायो त्यही खाइयो अहिले यस्तो भो । बिहे गरेका भए कम्तीमा रद्दी खानाबाट त जोगिइन्थ्यो । अब आफैंलाई धान्न गाह्रो छ, म उनको बेडछेउ टुसुक्क बसें । ब्या गर् यो भने झन् के होला ? तनाव थपिन्छ । काठमाण्डौंमा ब्या गरेर बस्न गाह्रो छ । त्यो भर्खरै बेरोजगारीको महासागरबाट फुत्त बाहिर निस्किएको बेला थियो । एउटा अखबारमा मैंले जीवनको पहिलो जागिर पाएको थिएँ । अब उनका जण्डिस ग्रस्त पहेंला आँखा ठुला भए । आँखाको सेतो सतहमा पहेंला धर्का प्रष्ट देखिए । ल हेर्नुस, उनले डायरीका पन्ना पल्टाउन थाले मैंले हिसाब निकाल्या छु । पाँच हजारमा दुई जनालाई खान पुग्छ । कोठाभाडा तिर्ने गरी सात हजारले महिना मज्जाले कट्छ । अब उनको हिसाब सुरु भो । दालको यति चामलको यति तरकारीको यति हुँदै नुन, तेल, जिरा, मसाला, ग्यास, चिनी र चियापत्तीमा पुगेपछि हिसाब पूरा भो । मलाई मरिचवाला चिया खुब मन पर्थ्यो, मरिचको हिसाब भने देखिएन । तैपनि हिसाब ठिकै थियो । बिहेपछि चाँडै नै सन्तान जन्माउने योजना उनको हिसाबमा थिएन । त्यसका लागि अत्यन्त आवश्यक कण्डम महंगो पनि थिएन । जम्मा ५ रुपैयाँको ढाल युज गरे हिसाबमा गडबडी हुने कुरा पनि थिएन । बिरामी हुँदा एक्लोपन फिल हुँदोरहेछ । मित्र झन् भावुक भए,अहिले तातोपानी तताएर खान दिने पनि कोही छैन । कुरा गरौं भने पनि कसैलाई फुस्रद छैन । ब्या भएको भए त टन्टै साफ हुन्थ्यो । ब्या त गर्न हुन्थ्यो म पनि एकाएक जंगिएँ । तलबै राम्रो छैन ? तीन हजारले दुइटा बच्चाबच्चीसहित काठमाण्डौंमा बसेका मानिस पनि छन्, मित्रले थपे त्यो हेर्दा त हामी धेरै नै कमाउँछौं नि नरेन्द्रजी ? करिब दुई घण्टाको व्यापक छलफलपछि निक्र्योल निस्कियो, साला जे भएपनि विवाह चैं गर्नै पर्छ । तातो भात त खान पाइन्छ । सुख्खमा सँगसँगै हाँस्ने मौका नआएपनि दुख्खमा सँगै रुन त पाइन्छ । हामी मात्रै कति ओठ-मुख सुकाउँदै बेमौसमको एक्लो बेलौतीको रुखझैं खिङ्रङ्ग पर्ने कुरैकुरामा मेरा रहरका पातहरु पलाउँदै गए । ठोकम, मित्रले आफ्ना तिघ्रामा मुड्की ठोके ठोकम । जण्डिस ठिक हुनेबित्तिकै म पनि ठोक्छु । हो त मेरा ढुकढुकी बढे । विवाह गर्न सबैभन्दा पहिले केटी चाहिँन्छ बल्ल होस् आयो । दुवै अबेरसम्म टोलायौं । लभै गरेर बिहे गर्ने हो भने पनि क्याफे-कफी कफी-क्याफे गर्दागर्दै धेरै दिन बित्ने भए, खर्च हुने भए, फेरि लभ बिहेसम्म पुग्ने हो कि होइन ? लभै गर्ने हो भने पनि कसैले त पत्याउनु पर्यो । यदि लभै परेको भए त यस्ता तनाव पनि हुँदैनथे । आफुबाट त केही होला जस्तो छैन । अब एउटै बाटो छ- घर । सल्लाह भो धेरै सपना नपालम् एरेन्ज म्यारिजलाई दस औंलाको प्रणाम गरौं । ल घरमा फोन ठोकम् मित्रले आफ्नो मोबाइल अनलक गर्दै मतिर बढाए । मैंले लजाउँदै लिएँ र घरको नम्बर डायल गरें । फोन पनि लाग्यो । फोन आमाले उठाउनु भयो । आराम-बिरामदेखि मौसमसम्मका कुरा हुँदै थिए मित्र वरैबाट चिच्याए अब नरेन्द्रजीको ब्या गरिदिनुपर् यो आमा ? को हो त्यसरी चिच्याउने ? आमा हाँस्नुभो । साथी हो । के हो, तँलाई ब्या गर्न मन लाछ कि के हो ? म ट्वाल्ल परें के भनूँ ? केटी हेर् या छस् ? आमा हाँस्दै हुनुहन्थ्यो कोही छन भने भन् ? यिनको मति छैन ? मित्र फेरि चिच्याए तपाईले नै खोज्दिनु पर् यो ? तँलाई मन पर्ने केटी मैंले कहाँबाट ल्याइदिनु ? आमाको फाइनल कुरा तँ आफै खोज ? म आफ खोज्न कता भौंतारिऊँ त प्रभु ! तिर ठिक ठाउँमै लागेको रैछ । यसपालि अनिल सरको घर जाँदा थाभो । अनिल सरु अर्थात अनिल न्यौपाने जो मेरा गडफादर हुनुहन्छ । भावनात्मक मात्रै होइन पारिवारीक सम्बन्ध पनि अंशियारको जस्तै छ उहाँको र मेरो । किर्तिपुर सरको घरमा चिट्चिट् पसिना निकाल्दै बोकेको ब्याग के बिसाएको थिएँ- सुत्ने र सिरियल हेर्ने काम पाएर बेस्मारी मोटाएकी भाउजु फुलेका गाला माथि सार्दै हाँसिन्, बाबु विहे गर्नु हुन्छ हैन ? केटी पाए किन नगर्ने कोही छ ? मैंले हत्केलाका रुमालले पसिना पुछ्दै ठट्टा गरें भाउजुसँग । अँ साँच्चै एउटी छ । आज हेर्न जानुहुन्छ लाडेली मुन्द्रामा भनिन् भाउजुले । कुन ठाउँमा नि ? चापागाउँ, ललितपुर । छोटो उत्तर थियो भाउजुको । ज्या, अचानक पैतलादेखि तालुसम्म आङ् सिरिङ्ग भो । यस्तो उत्तरको आसै थिएन । भाउजुले केटीको बखान सुरु गरिन् केटी राम्री नै छ । एमए पढ्दैछे । गाउँकी हो, दुख्ख बुझ्छे । पैला तपाई केटी हेर्नुहोस् । केटीले तपाईलाई पत्याई र तपाईको चित्त बुझ्यो भने यहि माघमा ब्या गर्ने सल्लाह भाछ । केटी जेठानले खोजेका रैछन् । उनै जेठान भाउजुका सहोदर दाई हुन् । म जेठानलाई खबर गर्छु भाउजुले मलाई गहिरिएर हेरिन् आजै जानुस् हेर्न ? लौजा मेरो तल्लो पेट कटक्क दुख्यो । हातगोडा फतक्क गले । भननन्न रिंगटा चल्न थाल्यो । साँच्चै विवाह हुने नै भो त ? थाक्या छु म छट्पटिएँ, नुहाएको छैन । आज त जान्नँ । अनि कहिले जाने त ? भोली जान्छु मेरो आवाज काँप्यो । भाउजुले मेरो कुरा जेठान र आमालाई फर्वार्डु गरिन् । म भने सुस्त कोठाभित्र छिरेर अबेरसम्म टोलाएँ । एकछिन त कता-कता लाज पनि लाग्यो कसरी जाउँला भोलि ? एक्कै छिनमा डर लाग्न थाल्यो । केही गरी बिहे भइहाल्यो भने त……… छ्या, तल्लो पेट खल्लो भएर आयो । भोलि बिहानै जानुपर्छ केटी हेर्न जेठानले साँझपख खबर पठाए यसो चिया खाने बहानामा । कुरा त झनै गम्भीर हुँदै गयो । म प्यारालाइसिस्को रोगी झै फतक्क गल्दै गएँ । राति बेड्मा चिसो छल्न सिरक्ले शरिर ढाकें । उत्तानो परेर बलिरहेको नाइट बल्प हेर्दै सोचिरहें, कस्ता होलान् विवाहपछिका दिनहरु ? एक्लै आएको थें दुई भएर जानु……॥ छ्या । बिहानसम्म कतिखेर मन फुरुङ्ग हुन्थ्यो त कतिखेर झस्याङ्ग । छिः राम्रा लुगा छैनन् बिहान सवा आठ बजे भाउजु च्याँट्ठिइनँ सबै फुरुङ्ग उडेका छन् । उहाँ त गतिला लुगा लगाउनै जान्नुहुन्नँ । अहिलेको फेसन कस्तो छ ? त्यो पनि थाहा पाउनुहुन्नँ । निधार खुम्च्याउँदै बोलिन् भाउजु । म कित्रिक्क हाँसें, ओठ फिसल्लिए । निलो अगाडिपट्टि रङ खुइलिएको पाईन्ट । खरानी रङको सर्ट । छालाका जुत्ता लगाएपछि मेरो तयारी पुरा भो । धेरै पछि कपालमा तोरीको तेल लगाएँ । म यस्तै छु, किन बढी देखावटी बनुँ ? केटीले मन पराए पराओस् नपराए यत्रै सित्ती । बिहानै देखि पेट खल्लो भईरहेको थियो मरिचवाला कालो चिया पिए पछि ठिक भो । नौ बज्यो ढुकढुकी बढ्न थाल्यो । साढे नौ बजे जेठान आइपुगे । बाइक जेठानले चलाउने भए बाटो उनैले देखेका । अल्लि बढी समाजसेवी छन् । गाउँभरिको टन्टा लिएर हिड्नु हुन्छ उहाँ । केटीका बाउलाई राजनीति मनपर्छ जेठान टाउको पछाडि बटार्दै हाँसे- सानातिना नेता हुन । कुन पार्टीका ? एमाले । नेतालाई पत्रिका चाहिन्छ, म हाँसें पत्रकार भनेपछि त छॊरी देलान् नि ? जेठान बोलेनन् । अगाडि बाटोमा आइपुगेका बाख्रालाई बेस्मारी हर्न् बजाए । बाइक गाउँभित्र छिर् यो । हाम्रो अघिअघि हुइँकिएर गएको जिपले धुलो र धुवाँ उडायो । ला ! खत्तमै पार् यो कि के हो ? अत्तालिँदै मैंले बाइकको साइड सिसामा आफ्नो अनुहार र कपाल हेरें । धन्य धुलो जमेको रहेनछ । आफुले हेर्न जाने केटी कस्ती होली ? केटीलाई थाहै नदिई उसलाई हेर्ने योजना छ । यदि केटी घरमै भेटिई भने म कसरी आँखा जुधाउँला म आफ्नै मनको सुमेरुमा फन्का लगाउन थालें । र एकछिनमै झस्किएँ । जेठानले केही भने जस्तो लाग्यो । बाइकको चर्को घ्यार्र-घ्यार्र त्यसमा पनि हेल्मेटभित्र सुस्त बोलेको आवाज मैंले बुझ्नै सकिनँ । अगाडि फिक्का रङको कुर्ता सुरवाल लगाएकी एउटी केटी बाटोको छेउछेउ हामीतिर आइरहेकी थिई । उसकै अगाडि जेठानले घ्याच्च बाइक रोके । केटीको कपाल पछिल्लतिर एकचुल्ठे परेको थियो । अरु मैंले ध्यान दिइनँ । कता जान लागेको नानी ? अल्लि पर ऊ लजाई । बा घरमै हुनुहन्छ ? अँ । केटी फेरि लजाउँदै अघि बढी जेठानले फेरि बाइक हुइँकाए । म फेरि मनको अन्तरयात्रामा पसें । हिन्दी फिल्मका केटाले केटी हेर्न गएका कैयौं दृश्य आँखाभरि फनफनी नाच्न थाले । म पनि त्यस्तै फिल्मको हिरो हुँ कि के हो ? गजक्क परें । एउटा घरको गेटअगाडि सुस्त गतिमा बाइक रोकियो । गेट छेउछाउ बेसरमका झाडी थिए । दुईतले घर पुरानो मोडेलको थियो तलमाथि अगाडि बरण्डा भाको । झ्यालमा पार्टी इकाई समितिको बोर्ड टाँसिएको थियो । जसमा लेखिएको थियो, नेपाल कम्युनिस्ट पार्टी एमाले इकाई समिति चापागाउँ ललितपुर । घरको छेउछाउ अरु घर पनि थिए । केही मानिस ओहोरदोहोर पनि गरिरहेका थिए । बाइकको आवाज सुनेर एकजना अधबैंसें मानिस तल टावेल र माथि सेतो हाफ बण्डीमा बाहिर निस्किए । उनको मुखमा ब्रस र ओठभरि फिँज थियो । दाँत माझिरहेका रैछन् । जेठान नमस्कारु गर्दै उनीछेउ पुगे र खासखुस गर्न थाले । ती मानिसले मतिर हेरे मैंले बाइकको ऐना । खासखुस गर्दै जेठान ती मानिससँगै घरको पछिल्तिर गए । केटीको घर यै रैछ क्यारे । मैंले लजाउँदै वरिपरिका घरतिर हेरें । सबै मानिस आ-आफ्नो काममा ब्यस्त थिए । हाम्रो योजना सायद कसैलाई थाहा थिएन । एकै छिनमा जेठान हतारिँदै आए । ज्वाइँ साप ! उनले कानेखुसी गरे उहाँ नै हो केटीको बाउ । नमस्कार गर्नू । म जेठानको पछिपछि लागें । उनले घरपछाडि लगे । तर घरको मूल ढोका पछाडि नै रैछ । पछिल्लतिर टाढा-टाढासम्म फैलिएका फराकिला खेत थिए । आँगनको छेउछाउमा केही फूल पनि । केटीको बाले हाँस्दै स्वागत गरे । उनी अहिले भने चट्ट आइरन गरेका लुगामा थिए । मैंले हात जोडें । ल ! यतै बसम्, उनले बरण्डामा ओछ्याएको गलैंचा देखाए । बस्दै गर्दा छेउको झ्यालबाट मैंले खुसुक्क भित्र चियाएँ । एउटी महिला नाङलोमा चामल हेर्दै थिइन् । आँखा जुधे । म थचक्क बसें । केटा उहाँ नै हो ? जेठानले भने । म निहुरिएँ । के गर्नु हुन्छ ? प्रश्न सुनेर मैंले शिर उठाएँ । उनले मलाई गढेर हेरिरहेका रैछन् । पत्रिकामा काम गर्छु । कति भो काम गर्न थालेको ? तीनचार वर्ष । कुराकानीको सुरुवातदेखि बिटमार्दा सम्म मेरो पारिवारीक र निजी जीवनका सबै कुरा सोधे उनले । अदालतमा पेश गर्नु अघि कैदीलाई प्रहरीले सोधे जसरी । सोझाकुरा तर सटिक् उत्तर निडरताका साथ दिएँ मैंले । जेठान भने अपराधीले जस्तै गरी टाउको निहुराएर बसिरहे । एकछिन मौनता छायो । भित्रबाट नाङ्लोमा चामल उफारेकको आवज मज्दमन्द आइरहयो । खै ! केही सोध्नै आएन ? उनी खिस्स हाँसे मेरो जीवनमा पहिलोपल्ट नै हो ? यसरी घरमा मान्छे छोरी माग्न आएको । मेरो पनि पहिलोपल्ट नै हो ? केटी हेर्न आएको नबोलूँ भन्दै थें, फ्याट्ट मुखमा आईहाल्यो । मेरो कुरा सुनेर जेठान हिः हिः हिः गर्दै हाँसे । बाउको अनुहार भने रातो भयो । अब अहिलेको जमानामा के भर । छोरीको कतै लभ-सब पो पर् या छ कि ? बाउको मुहारको रङ परिवर्तन भयो ब्या भन्ने कुरा भावीले लेख्या हुन्छ । म छोरीलाई सोध्छु अनि खबर गरौंला । अब हामीले भनेको कुरा छोरीले मान्छे कि मान्दिनँ । अझै पढ्छु भनी भने त मेरो के लाग्छ र ! यदि केटीको अन्तै लभ-सब छ भने त मलाई नदिने रे ! म आफुलाई फिल्मको साइड हिरो जस्तो अनुभव गर्न र निरास हुन थालें । हेर्नुस्, ब्या भन्ने कुरा त लेखेर आएको हुन्छ बाउले मेरो निरास अनुहार देखे र सम्झाए छोरीले मानी भने त मेरो भन्नु केही छैन । त्यसपछि लामो सन्नाटा छायो । लौ त छोरीलाई नसोधी अरु कुरा कसरी अगाडी बढाउनू, बाउ तिघ्रामा हातले टेक्दै उठे फेरि यो वर्ष हाम्लाई जुठो पनि लाछ । उठ्दै गर्दा मैंले फेरि झ्यालतिर चिहाएँ । कसैले खुसुक्क हेरे जस्तो पनि लाग्यो । केटी नै थिइ कि ? कस्ता झुर बाउ, यसो भेट त गराउनुपर्छ । अब भेट भईहाल्यो, कुरा त चलिरहन्छ केटीलाई पछि भेटौंला- सोच्दै हामी फर्कियौं । अनि ज्वाइँ साप ! बाइकले रफ्तार लिएपछि जेठानले ठुलो स्वरमा सोधे, केटी कस्ती लागिन् त ? देखे पो भन्नु म सारा गाउँ थर्किने गरी कराएँ । लौ अघि बाटामा कुरा गरेकी केटी पो हुन् त । अनि भन्नु पर्दैन त ? भनेकै त हो ? जेठानले हेल्मेट पछाडि बटारे ए…… सुन्नु भएनछ । हत्तेरिका ! त्यसरात पनि अबेरसम्म निन्द्रा लागेन । पूर्ण हुँदै गएको चन्द्रमा हेर्दै टोलाईरहें । साँझपख आमाले फोन गरेर हार्दिक बधाई टाइपको कुरा पनि गर्नुभएको थियो । भाउजु पनि मख्ख थिइन् । म भने एउटा गहिरो उकुसमुकुस र छट्पटीमा थिएँ । राति अबेर सुतें बिहान भने चाँडै नै उठे । जेठानले खबर पठाएछन्, केटीका बाउले फेरि भेट्ने रे ! मेरो कन्सिरी तातेर आयो । ब्या के बाउसित गर्ने हो ? छोरीसित भेट गराउनु छैन । मैंले लिडी ढिपी लिएँ । यदि भेट्नु छ भने केटीसित भेट्छु । बाउलाई भेट्दिनँ । त्यसैले त भन्दा रहेछन् मान्छेहरुले । एमालेका नेताहरु तेस्रो लिङ्गि हुन । निर्णय गर्न सक्ने क्षमता हुँदैन उनीहरुसँग । मैंले सोचेको थिएँ भन्नेहरुले केन्द्रलाई नै होला । साँच्चै यो रोग त स्थानिय तहसम्म पनि रहेछ । सोध्दा एउटा कुरा छुटेको छ रे ? तीन दिनपछि फेरि जेठानले फोन गरे । के रैछ ? केटोको पार्टी चैं कुन हो भनेर सोधेका छन् । मैंले पनि पत्रकारको जात धर्म र पार्टी हुँदैन भनेर भन्दिनुस् भन्दिएँ । उताबाट फेरि कुनै प्रश्न आएन । न त उत्तर । काठमाण्डौं फर्केको एक हप्तापछि जेठानले फोनमा सुनाए लौ ज्वाइँ साप बधाई छ । केटीले बिहे गर्न माने जस्तो छ । हत्तेरी ! मलाई झोक चल्यो । मैंले पनि त मन पराउनु पर् यो नि । भेट गराउँला नि । केटीसित भेटेर तपाई नै कुरा गर्नुस् । ठिक छ । फेरि समय मौन भएर बितिरहयो । कुनै खबर आएन बरु जेठान नै काठमाण्डौं आए । कफि-गफमा जेठानले अबेरपछि सुनाए आउँदा केटीका बाउसित कुरा भएको थियो । अनि ? एमाले नभई त छोरी दिन्न भन्छन् त ? जेठान हाँसे नत्र उनको छवि बिगि्रन्छ रे ! हे भगवान् ! लौ जेठान यस्तो कुरापनि हुन्छ ? म पनि जँगिएँ । ब्या गर्नलाई त यत्रै एमाले भइँदैंन ।
समाप्त !!